top of page
Search

बडादशैं

  • Writer: Article Writing
    Article Writing
  • Oct 21, 2020
  • 2 min read



दशैं अथवा बडादशैंलाई समस्त नेपालीहरूको महान चाडको रूपमा लिइन्छ। ठाउँ विशेष दशैंलाई बडादशैं, दशहरा वा बिजयादशमी पनि भन्ने गरिन्छ। संस्कृत शब्द दशमीबाट अपभ्रंश हुँदै दशैं बन्न पुगेको यो चाड विशेषतः हिन्दू धर्मावलम्बीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म, १५ दिन नै दशैंलाई भव्य रूपमा मनाउने गरिन्छ। त्यसैले दशैंलाई सबैभन्दा लामो चाड भनेर पनि चिनिन्छ।

आश्विन शुक्ल प्रतिपदाको दिन, अर्थात् दशैंको पहिलो दिन, जमरा राखी सुरु गरिन्छ, जसलाई घटस्थापना भनिन्छ र यसै दिनबाट नवरात्र पनि सुरु हुन्छ। नौं दिनसम्म नवरात्र विधिले प्रत्येक दिन फरक फरक देवीहरूको पूजा गरिन्छ। प्रतिपदाको दिन देखि शक्तिका नौं रूपहरू क्रमशः शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै चण्डी पाठ गरिन्छ र त्रिशक्ति महाकाली, महालक्ष्मी, र महासरस्वती को विशेष पूजाआजा र आराधना गरिन्छ।

देविपुराण अनुसार, सत्ययुगमा भैंसीको गर्भबाट जन्म लिएका मैसासुर भन्ने पराक्रमी दैत्य थिए। ब्रह्माको कठोर तपस्या र साधना पछि कुनै पुरुष वा देवताले आफूलाई मार्न नसक्ने वरदान पाएका उनीले आफ्नो वरदानको दुरुपयोग गरी भुलोक र देबलोकमा आक्रमण गर्न थाले। मैसासुरको अगाडि कसैको केही सीप नचलेपछि ब्रह्मा, विष्णु र महादेवले आफ्नो- आफ्नो शक्ति कुञ्ज एकाकृत गरे र सोही कुञ्जबाट महादुर्गा भगवती उत्पन्न भइन्। त्यसपछि भगवतीले मैसासुरसँग आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म, ९ दिन धमश युद्ध गरी मैसासुरको वध गरीन र १०सौं दिन विजयी उत्सव मनाइयो। त्यस्तै अर्को प्रसङ्ग पनि दशैं सँग जोडिएको छ। भगवान श्रीराम र रावणबिचको युद्धमा हरेकदिन विभिन्न शक्तिस्वरूपा देवी भवानीको उपासना गरी श्रीरामले नवमीको साँझ रावणको वध गरेको हुनाले यसै जितको खुसीयाली दशमीको दिन मनाइन्छ भन्ने प्रसङ्ग पनि दशैमा जोडिएको छ।

शुक्ल प्रतिपदादेखि १५ दिनसम्म दशैं मनाईएता पनि घटस्थापादेखी नवमीसम्मलाई नवरात्र र दशमीलाई दशैं भन्ने चलन छ। पहिलो दिन घटस्थापना, सातौं दिन फूलपाती, आठौ दिन महाअष्टमी, नवौं दिन महानवमी र दशौं दिन विजयादमी नै दशैंका प्रमुख दिनहरू हुन। घटस्थापनाको दिन दीप, कलश, गणेश र देवीको स्थापना गरी पूजाआजा आरधना गरीनुका साथै गहुँ, जहु, र धान मिसाएर जमरा पनि राख्ने गरिन्छ। महाअष्टमीको दिन विभिन्न पशुपन्छीको बलिदान दिई कालीलाई खुशी बनाउने प्रयत्न गरिन्छ। महाअष्टमीको रातलाई कालरात्रि पनि भनिन्छ। त्यस्तै महानवमीको दिन आफ्ना गाड़ी, मोटरसाइकलको पूजा गरिनुको साथै, वर्षमा एकदिन मात्र खुल्ने तलेजु मन्दिरका ढोकाहरू खोलिन्छन् र भक्तहरू त्यहाँ गएर पूजा आरधना गर्ने गर्दछन्। दशमीलाई दशैंको प्रमुख दिन मानिन्छ र यसै दिन ठूला-बडाबाट आशिर्बाद लिई टिका लगाईने गरिन्छ।

दशैमा लगाईने टिका ,रातो टिका र सेतो दहीले शान्तिको प्रतिक बुझाउँछ।आफ्नो घर-परिवारमा सुख, शान्ति र समृद्धि छाओस्, नराम्रो माथि सधैब राम्रोको जीत होस् भनी दुर्गाको पूजा गर्दै ठूलाबाट आशिर्बाद र दक्षिणा लिइन्छ। चङ्गा उडाएर, पिङ्ग खेलर, घरका सम्पूर्ण परिवार जम्मा भएर दशैं हाँस- खेल गरी मनाउने गरिन्छ। भनिन्छ दशैंमा उडाईने चङ्गाले इन्द्र भगवानलाई अब पानी नपार्दिनुस भनेर सम्झाउँछ रे।

यती आत्मीयताको चाड यो २०७७ वर्षमा कोरोनको कारणले मनाउन नपाउँदा सारै दुःख लागेको छ। अघिल्ला वर्षजस्तो रमझम, भेटघाट नहुने हुँदा मन खिन्न भएतापनि स्वास्थ्य रहे आगामी वर्षहरुमा फेरि पुरानै तरिकाले दशैं मनाउन पाउनेछौं भनेर हामीले चित्त बुझाएका छौं। हजुरहरु पनि धेरै भिडभाड नगरी, स्यानिटाइजिर, मास्क लगाई सावधानीपूर्वक दशैं मनाउनु होला।

आयु द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।

ऐस्वर्य नहुषे गतिश्व पवने मानन्च दुर्योधने ।

दानं सुर्योसूते बलं हलधरे सत्ञ्च कुन्तीसुते ।

विज्ञानं बिधुरे भवन्तु भवतां किर्तिश्व नारायणे ।।

हजुर र हजुरको परिवारमा सुख, शान्ति र समृद्धि छाओस्, शत्रुहरूको नास् होस् भन्दै हामी सम्पूर्ण Learner's Blog परिवारको तर्फबाट विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।।

 
 
 

Comentarios


Post: Blog2_Post
  • LinkedIn
  • Facebook

©2020 by Learners blog. Proudly created with Wix.com

bottom of page