अनिशा भुषाल
![](https://static.wixstatic.com/media/d5b964_51e7eaa9824f4a7ab649e2be2e1c37d2~mv2.jpg/v1/fill/w_980,h_770,al_c,q_85,usm_0.66_1.00_0.01,enc_auto/d5b964_51e7eaa9824f4a7ab649e2be2e1c37d2~mv2.jpg)
सामाजिक सञ्जाल यस्तो माध्यम हो जसको सहायताबाट हामी मानव समुदायहरु एक आपसमा अन्तरक्रियात्मक भावनालाई सक्रिय गराई विभिन्न सामाजिक तथा व्यवसायिक कार्यहरूको सुरुवात तथा सम्पन्न गर्न सक्छौँ। सामाजिक सञ्जालको सुरुवात सन् १९९७ मा 'सिक्स डिग्री डट कम'बाट भएको थियो। त्यस यताको यात्रामा यसले विकास र पहुँचको ठुलो फड्को मारेको छ।
संसारभरका तीन अर्ब मानिसहरु अथवा विश्वको पूरा जनसंख्याको झण्डै ४०% मानिसहरु समाजिक सञ्जालको प्रयोग गर्दछन्। यसका थुप्रै उदाहरणहरु छन् जस्तै:- ट्विटर, भाइबर, फेसबुक, युट्युब, इन्स्टाग्राम आदि। ती मध्ये 'फेसबुक'सबैभन्दा लोकप्रिय छ। फेसबुकको स्थापना सन् २००४मा मार्क जुकरबर्गले आफ्ना सहपाठी साथीहरूसँग मिलेर गरेका थिए।
सकारात्मक असर:-
सामाजिक प्राणी मानवजातिलाई एकआपसमा जोड्न सामाजिक सञ्जालले निकै ठूलो टेवा पुर्याएको छ। यसको प्रयोगबाट मनोरञ्जनात्मक तथा चेतनामूलक सामाग्रीहरू त प्राप्त गरिन्छ नै झन् आजकाल त यो आम्दानीको स्रोत पनि बन्न पुगेको छ।
हाम्रो मन मष्तिस्कमा राम्रो साथी बनी बास गरेको सामाजिक सञ्जालले बालबालिका देखि लिएर युवायुवती तथा वृद्धवृद्धाहरुमा पनि निकै राम्रो हक जमाएको छ।
हामी संसारको जुनसुकै कुनामा रहेर पनि यसको प्रयोगबाट सारा संसारलाई नियाल्न सक्ने खुबी राख्छौँ। यसको माध्यमबाट हामी कुनै देशको राजनीतिक उथलपुथल देखि लिएर विश्वमा घटेका जल्दोबल्दो घटनाहरूको बारेमा जान्न सक्छौँ। सामाजिक सञ्जाल हाम्रो कला तथा प्रतिभाहरू प्रस्फुटन गर्ने रङ्गमञ्च बनेको छ। साथसाथै एक्लोपनको साथी बनी हाम्रा भावनाहरू व्यक्त गर्ने थलो पनि बनेको छ।
नेपालमा जनसंख्याको झण्डै ६३% मानिसहरु समाजिक सञ्जालको प्रयोग गर्दछन्। छिटोछरितो सुचना आदानप्रदानको स्रोत बनेको सामाजिक सञ्जालले अध्ययन अनुसन्धान एवं लेखन कार्य तथा महत्वपूर्ण कागजात, फोटो, भिडियोहरु तुरुन्त आदानप्रदानमा टेवा पुर्याएको छ।
फेसबुक जस्ता सामाजिक सञ्जालको प्रयोगबाट हामीले देश-विदेशका विभिन्न जात, धर्म, सम्प्रदायका मानिसलाई आफ्नो साथी बनाई तिनीहरूको जिवनशैली, धर्म, संस्कृतिको बारेमा जान्न, अध्ययन गर्न सक्छौँ र हाम्रो कला, धर्म, संस्कृतिलाई पनि संसारमाझ चिनाउन सक्छौँ। साथसाथै युट्युब, ट्विटरको प्रयोगबाट विभिन्न राजनीतिक विचार तथा एजेण्डाहरुको बारेमा जान्न सक्छौँ। त्यसैले सामाजिक सञ्जालले हामीलाई थप सामाजिक बन्न मद्दत पुर्याएको छ।
'सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्य विधि- २०७५' अन्तर्गत सबै सरकारी कार्यालयले अनिवार्य रुपमा सेवाग्राहीलाई सुचना प्रदान गर्न सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले सुचना आदानप्रदानलाई थप सहज बनाई सरकारी कार्य सम्पन्नमा मद्दत गर्दछ।
तसर्थ सामाजिक सञ्जालको प्रयोगबाट हामी हाम्रा सारा पुराना मुल्यमान्यता भन्दा पनि पर संसारको कुनै नौलो कुराहरुको अनुभव गर्न पाइरहेका छौँ। विश्वको कुनै कुनामा रहेर पनि वर्षौदेखि बिछोडिएका साथीभाई, आफन्तजनसँगको सम्बन्धलाई निरन्तरता दिन पाइरहेका छौँ।
नकारात्मक असर:-
तर वर्तमान परिस्थितिलाई नियाल्ने हो भने सामाजिक सञ्जालको उपयोग भन्दा पनि दुरुपयोग बढिरहेको छ। एक अध्ययन भन्छ औसत व्यक्तिले आफ्नो सुत्ने समयभन्दा बढी समय सामाजिक सञ्जालमा खर्च गर्छ। एकै परिवारका सदस्यहरु पनि एकआपसमा भेटवार्ता गर्नभन्दा पनि घोप्टो परेर मोबाइल थिच्नमा तल्लिन रहन्छन्।
कतै यसले हाम्रो पारिवारिक मूल्यमान्यतालाई ओझेल पार्ने त हैन ? कतै सामाजिक सञ्जालको आवश्यकता भन्दा बढि प्रयोगले हामीलाई एकलकाँटे, आत्मकेन्द्रित र असामाजिक त बनाइरहेको छैन ?
अर्कोतिर हेर्ने हो भने सामाजिक सञ्जालमा बढ्दो देखावटीपनले गर्दा मानिसहरू 'घाँटी हेरी हाड निल्नु' भन्ने उखानलाई भुलेर 'आलु खाएर पेँडाको धाक'तर्फ उक्लिरहेका छन्। मानिसहरूको यस्तो बद्लिदो स्वभावले एकआपसमा इर्ष्या, रिस र डाहाको रुपमा लिएको छ।
फेसबुक, ईन्स्टाग्राम, भाइबरको आवश्यकता भन्दा बढि प्रयोगले हाम्रो पठनपाठन, स्वास्थ्य तथा दैनिकिमा कस्तो र कति नकारात्मक असर परेको छ भन्ने कुरा हामी आफैँ अड्कल लगाउन सक्छौँ। सामाजिक सञ्जालमा कोहि असल व्यक्तित्वको बारेमा ३०%ले तारिफ र ७०%ले आलोचना गर्छ भने अधिकांश मानिसहरू सत्यतथ्य पत्ता नलगाई त्यही आलोचनालाई पछ्याउँदै उसको चरित्र हत्य गर्नमा तल्लिन रहन्छन्।
यो त सामाजिक सञ्जालको भरपुर दुरुपयोग हो। नेपालमा धेरै नेता, सामाजिक, अभियन्ता, कलाकार, खेलाडी मात्र नभएर विभिन्न सङ्घसंस्था समेत यस्तो क्रियाकलापहरुबाट पीडित हुन परेको छ। तसर्थ सामाजिक सञ्जालको गलत प्रयोग गर्दै मानविय संवेदनासँग खेल्ने अरुको आत्मसम्मानमा ठेस पुर्याउन अग्रसर रहने पात्रहरूको कमी छैन यहाँ।
सामाजिक सञ्जालले एउटा सामान्य मान्छेलाई सारा संसार चिनाउन सक्छ भने क्षणभरमै उसको गोपनियता भङ्ग गरिदिन पनि सक्छ। केहि समयअघि 'नेपाली बेबिज' नामक ग्रुपले नेपाली युवतिका फोटो दुरुपयोग गरी ती फोटोमा हेर्नै नसकिने गरी अस्लिल छेडखानी गरीरहेको थियो। पिडित युवतीहरुले सो कुरा चाल पाए पछि साइबर ब्युरोमा उजुरी दिएका। त्यसपछि विभिन्न प्रयासपश्चात ती फोटाहरु हटाइएका थिए।
हालसम्म साइबर अपराधसम्बन्धी ४सयभन्दा बढी उजुरी दर्ता भएकोमा अधिकांश चरित्रहत्या सँग जोडिएका छन्। महानगरिय प्रहरी अपराध महाशाखाको साइबर सेलको तथ्याङ्क अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा नक्कली आइडि बनाएर चरित्रहत्या गर्ने घटना बढेका छन्।
सामाजिक सञ्जालमा कुनै पनि जातजाति समुदाय धर्म संस्कृतिको बारेमा जथाभावी गरिने टिकाटिप्पणीले कताकति धार्मिक र जातीय सहिष्णुतामाथि निरन्तर प्रहार त गरिरहेको छैन ? कसैको मृत्यु भयो भने शवको छेउमा उभिएर फोटो खिच्न र सामाजिक सञ्जालमा पोस्ट्याउँन हताय गर्न प्रवृत्ति; के यो मानविय संबेदनहिनताको पराकाष्ठा हैन ? के यहि हो त सामाजिक सञ्जालको उचित प्रयोग ? पक्कै पनि हैन। यसबाट के प्रष्ट हुन्छ भने सामाजिक सञ्जालले 'असामाजिक' सञ्जालको रुप लिइरहेको छ।
हालसालै ट्विटर फेसबुक युट्युब जस्ता सामाजिक सञ्जालमा नेपालविरुद्ध भारतीय 'प्रोपोगान्डा' व्यापक रूपमा फैलिएको थियो। नेपालका सम्माननीय प्रधानमन्त्री विरुद्ध निकै निच र झूठा आरोपहरू लगाइएको थियो। यसबाट भारतीय मिडियाको नाङ्गो रुप प्रष्ट देख्न सकिन्छ। अझै धेरै भन्दा धेरै भिउज कमाउने हेतुले निकै निच, असभ्य र झूठा हेडलाईन राखेर भिडियो बनाइ सोझासाझा नागरिकलाई झुक्याउने झोले युट्युवेहरु पनि च्याउजस्तै उम्रिएका छन् यहाँ।
केहि दिनअघि मात्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सहभागी भर्चुअल बैठकमा आकस्मिक रुपमा यौनजन्य तस्वीर देखिएपछि कार्यक्रम तत्कालै रद्द गर्नुपरेको थियो। यस विषयको छानविन हुने क्रममा सञ्चार प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, नेपाल दुरसञ्चार प्राधिकरणका प्रबन्ध निर्देशक पुरुषोत्तम खनालले सामाजिक सञ्जाललाई व्यवस्थित तुल्याउन विभिन्न कोसिस भएपनि प्रभावकारी कानुनको अभावमा साइबर अपराधबाट पीडित हुनुपरेको बताएका थिए।
सामाजिक सञ्जाललाई व्यवस्थित तुल्याउन के गर्नुपर्ला ?
पारिवारिक सामाजिक सञ्जालको व्यवस्थित प्रयोगमा आभिभावकको महत्वपूर्ण भूमिका रहन्छ। अभिभावक आफैँले यसमा चाहिनेभन्दा बढी समय व्यतीत गर्दै छोराछोरीले यस्तो नगरुन् भन्ने अपेक्षा गर्नु गलत हो। त्यसैले छोराछोरीले यस्को उचित प्रयोग गरून् भनेर अपेक्षा गर्ने अभिभावक आफैँले यसको उचित प्रयोग गर्न जरुरी छ।
स-साना बालबालिकालाई चौबीसै घण्टा मोबाइल दिएर फकाउनु भन्दा पनि सानैदेखि उनीहरूको क्षमताले भ्याएसम्म को रचनात्मक कार्यहरु गर्न सिकाऔँ। कतै छोराछोरीले आफ्नै अभिभावकलाई नै सामाजिक सञ्जालबाट ब्लक गरी गलत बाटो तर्फ हिँडिरहेका त छैनन् ? त्यसैले अभिभावकले आफ्ना सन्तानको दैनिक के कस्तो हुँदैछ र सामाजिक सञ्जालमा के कस्ता क्रियाकलापहरु गरिरहेका छन् भन्ने विषयमा ध्यान दिनुपर्छ।
सामाजिक सञ्जाललाई थप व्यवस्थित बनाउनकोलागि विद्युतीय कारोबार ऐन २०६३, विद्युतीय कारोबार नियमावली २०६४ र यसका अलवा समयसमयमा नेपाल सरकारले सामाजिक सञ्जालमा जथाभाबी पोस्टहरू नराख्न सूचना दिने गरेको छ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत "इन्टरनेटमा प्रदर्शन गर्न नहुने भनी रोक लगाइएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरान गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमले अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई १लाख रुपैयाँ सम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने" भनेर उल्लेख गरिएको छ।
यी कानूनी व्यवस्थाहरु कापीका पानामा मात्र नभएर व्यवहारमा पनि उतारिनु पर्छ।
वास्तवमै भन्ने हो भने विभिन्न सकारात्मक तथा नकारात्मक असरहरु बोकेको सामाजिक सञ्जालको सदुपयोग गर्ने वा दुरुपयोग गर्ने सबै हामीमा भरपर्ने कुरा हुन्। यसका सकारात्मक पक्षलाई आत्मसात गर्न सके हामी धेरै माथि उक्लिन सक्छौं तर यसका नकारात्मक पक्ष तर्फ लाग्ने हो भने समयको बर्बादसँगै हाम्रो जिन्दगी नै ओझेल नपर्ला बन्न सकिन्न त्यसैले सजग रहौँ, सामाजिक सञ्जालको सदुपयोग गर्न सिकौँ।
Ma chickena
samaajik sanjaal laai ali manasik xetra tira xodera lekhe raamro hai❤️❤️❤️